1:54 AM

झन्डै दुर्घटना

Posted by Hari Khanal

सुधीर शर्मा
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार लोकतन्त्र दिवसका अवसरमा सबैसँग हात मिलाएर अगाडि बढ्ने बताए । टुँडिखेलमा आयोजित समारोहमा उनले प्रधानसेनापति रुक्मांगद कटवालसँग पनि मुस्कुराउँदै हात
मिलाए । तर के उनीहरूको सम्बन्ध यस्तै हार्दिक छ ? दुई दिनअघिसम्म त बोलचाल पनि हुन नसक्ने अवस्था थियो ।
प्रधानमन्त्री दाहाल आउँदो भदौमा अवकाश पाउने कटवाललाई त्यसअघि नै हटाएर रथी कुलबहादुर खडकालाई सेनापति बनाउने टुंगोमा पुगेका थिए । सैनिक मुख्यालयले त्यसलाई सेनामाथि नियन्त्रण जमाउने माओवादी तयारीका रूपमा लियो र प्रतितयारी गर्‍यो । 'त्यसपछि मात्र माओवादी पछाडि सर्‍यो, सेनाले पनि काउन्टर प्लान ड्रप गर्‍यो,' उच्च स्रोतले भन्यो, 'राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिहरूको सक्रियतामा ठूलो दुर्घटना त रोकियो तर भरपर्दो निदान भइसकेको छैन ।'
आशंकाको एउटा कारण सेनाको उच्च तहमा व्याप्त अविश्वास हो । अहिले सेनाको
संस्थापन पक्ष माओवादी नेतृत्वको सरकारप्रति सशंकित र आक्रोशित छ भने रथी खडकाचाहिँ सरकारको प्रस्तावित सेनापतिका रूपमा
देखिएका छन् ।
शुक्रबार जंगी अड्डामा २५ जर्नेलहरू सहभागी साप्ताहिक बैठकमा केहीले नाम नलिइकनै खडकालाई माओवादीसँग मिलेको आरोप लगाए । यस्तै आरोपमा उनीलगायत २० जर्नेललाई सैनिक प्रहरीमार्फत थुन्ने योजनासमेत तीन साताअघि बनाइएको दाबी अर्का अधिकृतको छ । 'तर सबैलाई एकैचोटि कारबाही गर्दा विभाजन आउनसक्ने देखेर अन्त्यमा त्यो कदम रोकियो,' ती अधिकृतले भने ।
सरकारले म्याद नथप्दा अवकाश पाएका आठ सहायक रथीलाई सेनापतिविरुद्ध उक्साएको आरोप खडकामाथि लगाइएको थियो । 'उनीहरूलाई चिफ -कटवाल) ले म्याद थप्न सकेनन् भन्ने लागिरहेका बेला केबीले आफू चिफ भए थमौती गरिदिने आश्वासन दिएका थिए,' सैनिक स्रोतले दाबी गर्‍यो, 'त्यसपछि दिलीपशमशेर राणालगायत केही भूपू जर्नेलमार्फत कटवाललाई राजीनामा दिन दबाबसमेत दिइएको थियो ।'
स्रोतका अनुसार खडकाले माओवादी नेतृत्वलाई आफू सेनापति भए गर्ने कामको सूची नै दिएका छन् ः सेनापतिको सेवा अवधि ३५ र अन्यको ३० वर्ष तोक्ने, असारभित्र माओवादी छापामारलाई सेनामा लिने, माओवादी सेनाप्रमुख पासाङलाई मेजर जनरल र अन्य माओवादी कमान्डरलाई त्यसमुनिका पद दिने, ५० प्रतिशत सैनिकलाई विकास निर्माणका काममा खटाउने आदि ।
स्रोतका अनुसार खडका सेनापति भएको भए उपरथी शिवराम प्रधान
-हाल पोखरा) लाई सम्भाररथी, उपरथी डम्बर गुरुङ -दिपायल) लाई प्रबन्धरथी, उपरथी राम गुरुङ -पूर्वी पृतना) लाई युद्धकार्य महानिर्देशक, सहायक रथी दीपक गुरुङलाई सैनिक सहायक आदि बनाउने योजना थियो ।
उच्च स्रोतका अनुसार माओवादी योजना मंगलबार सेनापति कटवालबाट स्पष्टीकरण आएपछि उनलाई तत्कालै पदमुक्त गरेर खडकालाई कार्यभार दिने थियो । 'त्यस क्रममा कटवालले मानेनन् भने उनी र अन्य केही जर्नेललाई समात्ने योजनासमेत थियो,' स्रोतले भन्यो ।
आफैंलाई समेत नियन्त्रणमा लिएर अगाडि बढने योजनाबाट सेनापति कटवाल झस्किए । त्यसपछि एउटा प्रतियोजना लागू गर्नैपर्ने निष्कर्षमा
पुगे । त्यसलाई कार्यान्वयन गर्न
'एच आवर' तोकियो ः बुधबार बिहानको राति ।
उच्च सैन्य अधिकारीहरू तथा राजनीतिक एवं कूटनीतिक स्रोतबाट प्राप्त जानकारीअनुसार सेनाको प्रतियोजनाको खाका यस्तो थियो ः प्रधानमन्त्री दाहाल, विपक्षी नेता गिरिजाप्रसाद कोइराला, मन्त्रीहरू, अन्य नेता र केही छानिएका व्यक्तिलाई फोन तथा भेटघाटलगायत सबैखाले सम्पर्कबाट वञ्चित गरी 'लाइन एरेस्ट' गर्ने । पूर्वराजा ज्ञानेन्द्रलाई पनि नागार्जुनमै थुनेर राख्ने । सिंहदरबार, बालुवाटार, वाईसीएल तथा
माओवादी कार्यालय, मन्त्री निवास आदि सिज गर्ने ।
माओवादी लडाकुको हतियार राखिएका सबै कन्टेनरलाई घेरेर राख्ने तर क्यान्टोनमेन्टमा बसेका लडाकुलाई चाहिँ केही नगर्ने, बरु बाहिर निस्केर गाउँ र्फकन वा अन्यत्र जान प्रेरित गर्ने योजना थियो । 'शिविरमा रहेका अनमिनका अनुगमनकर्तालाई चाहिँ हेलिकप्टरमा राखेर सीधै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित मुख्यालयमा ल्याएर राख्थ्यांै,' उच्च सैन्य स्रोतका भनाइमा, 'उनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्नेमा विशेष ध्यान दिइएको थियो ।'
तयारीअन्तर्गत काठमाडौंस्थित १० नम्बर बाहिनी -स्पेसल फोर्स) र भ्याली कमान्डलाई तम्तयार राखिएको थियो भने उपत्यकाबाहिरका डिभिजन कमान्डरहरूलाई मंगलबारै बिदाबाट बोलाइएको थियो ।
'हाम्रो योजना सैनिक कु नझल्कने किसिमबाट जाने भन्ने थियो,' स्रोतका अनुसार 'केही जर्नेलले नमान्न सक्थे । जो जो तगारो बन्थे, उनीहरूविरुद्ध पनि कारबाही हुन्थ्यो ।' तर सकेसम्म रक्तपातहीन ढंगले अगाडि बढ्ने मनसाय रहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार सैन्य कारबाहीको पहिलो खाकाबारे सेनापतिलाई आइतबार दिउँसो सरकारले स्पष्टीकरण सोधेपछि सैनिक मुख्यालयमा छलफल भएको थियो । त्यहाँ कटवालनिकट केही अधिकृतले उनलाई जतिसक्दो चाँडो एक्सनमा गइहाल्न दबाब दिएका थिए । 'जति ढिलो भयो, माओवादीले खान्छन् भन्ने धारणा थियो,' सहभागी एक अधिकृतले भने, 'अहिलेजस्तो राम्रो माहौल र यति चुलिएको राजनीतिक अवस्था कहिल्यै आउँदैन भन्ने लागेको थियो । त्यसैले हामीले भन्यौं, चिफसाब, तपाईं अगाडि नसर्ने भए -स्लिपिङ) ट्याब्लेट खाएर सुत्नुस्, बाँकी काम हामी गर्छाै ।'
सबैको कुरा सुनिसकेपछि कटवालले त्यसरी सोझै एक्सनमा जाँदा ठूलो संकटमा परिने भएकाले 'संवैधानिक डोरीमा टेकेर अगाडि बढ्ने' योजना विस्तृत रूपमा सुनाए । 'त्यो डोरी राष्ट्रपतिलाई बनाउने भन्ने थियो,' ती अधिकृतले भने, 'त्यसका निम्ति बंगलादेशलाई मोडल मानिएको थियो ।'
बंगलादेशमा त्यहाँका सेनाप्रमुख मोइन अहमदले दुई वर्षअघि सैन्य हस्तक्षेप गरी नागरिक सरकार गठन गराई चुनावमार्फत केहीअघि मात्र दललाई सत्ता हस्तान्तरण गरेका थिए । ती मोइन सेनापति कटवालका पुराना परिचित हुन् । उनलाई दुई महिनाअघि -फागुन ४/७ मा) सुटुक्क काठमाडौं झिकाएर बंगलादेशी अनुभवबारे छलफल गरिएको थियो ।
'हामीलाई राष्ट्रपतितर्फको कुरा थाहा छैन, हामी त मिलिटरी प्लानमा मात्र संलग्न थियौं,' कान्तिपुरको सम्पर्कमा आएका सैन्य अधिकृतले भने, 'त्यसका निम्ति बाहिरैबाट योजना आएको थियो ।' उनको संकेत भारततर्फ थियो । त्यसबीच सेनापति कटवालले आफ्ना मित्र एवं भारतीय सेनाका प्रमुख दीपक कपुरमार्फत दिल्लीमा निणर्ायक लविङ गरिसकेका थिए । भारतीय संस्थापनले 'नेपाली सेनामा हात हाल्ने' माओवादी प्रयासलाई गम्भीरतापूर्वक लियो ।
कटवाललाई अस्वाभाविक ढंगबाट पदमुक्त गरिए आफूलाई मान्य नहुने भद्र चेतावनी राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री दाहाललाई दिए । तैपनि सरकार अगाडि बढेमा राष्ट्रपतिको प्रत्यक्ष शासन, सर्वदलीय सरकार वा नागरिक सरकारको विकल्पबारे सोचिएको स्रोतको दाबी
छ । उनका अनुसार त्यस्तो अवस्थामा संविधानसभा विघटन गरेर नयाँ संविधान निर्माणको छुट्टै प्रक्रिया प्रारम्भ गर्ने सोचाइसमेत थियो ।
जानकारका भनाइमा प्रधानमन्त्री बुधबार बिहान ७ः३० बजे राष्ट्रपतिकहाँ नगएको भए राजनीतिले अर्कै मोड लिन सक्थ्यो । किनभने सेनापति फेर्ने सरकारको प्रयास अघिल्लो दिन भारतीय राजदूत राकेश सुदको अभूतपूर्व दबाबपछि मात्र रोकिएको थियो । बुधबार बिहान ८ः३० मा बस्ने मन्त्रिपरिषद बैठकले कटवाललाई हटाउने निश्चितप्रायः भइसकेको
थियो । सुद बिहान ६ः३० मै राष्ट्रपति निवास पुगे । एक घन्टापछि दाहाल पनि गए ।
प्रधानमन्त्री मंगलबार राति १०ः३० मा लामो प्रयासपछि मात्र भोलिपल्ट बिहान राष्ट्रपतिकहाँ वार्ता गर्न सहमत भएका थिए । 'उनले बिहान जान आनाकानी गरेको भए मंगलबार मध्यरातपछि देशमा ठूलै दुर्घटना हुनसक्थ्यो,' जानकारले बताए ।
राष्ट्रपति र प्रधानमन्त्रीको बुधबार वार्तापछि माओवादी सेनापति फेर्ने योजनाबाट पछाडि हट्यो भने सेनाले पनि तयारी फिर्ता लियो । मुलुक एउटा अनपेक्षित दुर्घटनाको मुखबाट
जोगियो । बिहीबार प्रकाशित यससम्बन्धी सामग्रीको सेनाले संस्थागत बाध्यतावश खण्डन गरेको छ तर योजना निर्माणमा संलग्न उच्च सैनिक स्रोतले शुक्रबार कान्तिपुरसँग दोहोर्‍यायो, 'माओवादीले सेनामा नियन्त्रण जमाउने प्लान लागू गर्न खोजेका थिए, त्यसलाई सेनाको काउन्टर प्लानले नै रोक्यो ।'-शुक्रबार प्रकाशित सेनासम्बन्धी मुख्य समाचारको केही अंश राष्ट्रिय संस्करणमा प्राविधिक कारणवश छुट्न गएकामा क्षमाप्रार्थी छौं ।)
-Kantipur-

0 comments:

Post a Comment