टीका भट्ट
रामेछाप, रामेछाप अस्पताल नजिक लागेको डढेलो निभाउन गएका १३ सैनिकको बिहीबार जलेर मृत्यु भएको छ ।
अस्पताल नजिकै डढेलो आइपुगेपछि नियन्त्रण प्रयास गर्दागर्दै उनीहरूको मृत्यु भएको हो । नियन्त्रणमा गएका एक सैनिक र एक प्रहरी सुरक्षित छन् ।
डाँडास्थित अस्पतालको दक्षिणी पाटोबाट आगो लाग्दै आएपछि ती सैनिकहरू आगो आएकोतर्फ -ओरालो) निभाउँदै झर्दै थिए । घटनास्थलमा पुगेका सुरक्षाकर्मीका अनुसार सुकेका सल्लिपिर र रूख बाक्लो भएको स्थानमा रहेको एउटा सानो खोल्सीमा पुगेका ६ सैनिक एकै स्थानमा जलेको अवस्थामा पाइएका थिए । अरू शव भने यत्रतत्रबाट संकलन गरिएको थियो । सबै शव चिह्न नसकिने गरी डढेका थिए । तलबाट माथि आउँदै गरेको आगोको लप्काले भेटेपछि उनीहरूले भाग्ने मौका नपाएको अनुमान छ ।
बिहान १० बजे आगो लागेको जानकारी पाएपछि त्यसको एक घन्टा पछि रामेछाप ब्यारेकबाट उनीहरू आगो निभाउन खटिएका थिए । लगातार ४ घन्टा लगाएर आगो नियन्त्रणमा लिन लाग्दा एक सैनिकले जुत्तासहितको शव देखेपछि उनीहरू आफ्ना साथीको खोजीमा जुटेका
थिए । आगलागीमा पर्दा कोलाहलले केही नसुनिएकाले उनीहरूको उद्धार गर्न नसकिएको एक सुरक्षाकर्मीले बताए । शव अपराह्न ३ बजे घटनास्थलबाट निकालिएको थियो । घटनास्थलमा जम्मा पारिएका सबै शव सेनाको श्रीजंग गणको हातामा करिब साढे तीन घन्टा राखी परीक्षणका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।
घटनाको जानकारी पाएपछि रक्षामन्त्री रामबहादुर थापा बादल सेनाको अर्को हेलिकप्टर लिएर अपराह्न ५ बजे रामेछाप पुगेका थिए । उनले घटनास्थल निरीक्षण गरेका थिए । सेनाले उच्च बहादुरीका साथ ठूलो क्षति हुनबाट जोगाएकोमा धन्यबाद दिँदै मृत्यु भएका सैनिकको बहादुरीको उनले कदर गरे । ती सैनिकका परिवारलाई सरकारले यथासक्य चाँडो क्षतिपूर्ति दिने पनि उनले बताए । उनीसँगै सेनाका उच्च अधिकारी पनि रामेछाप आएका थिए ।
आगो लागेको जानकारी पाउनासाथ सदरमुकाम मन्थलीबाट प्रजिअ जितेन्द्रबहादुर भण्डारी, सशस्त्र प्रहरी, जनपथ प्रहरी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र चिकित्सक घटनास्थलतर्फ गएका थिए । मन्थलीबाट टोली पुग्दा आगो नियन्त्रणमा आइसकेको थियो । सेनाका १३ जनाले ज्यान गुमाएको जानकारी पाएपछि स्थानीय बासिन्दा भावविह्वल भए ।
प्रजिअ भण्डारीका अनुसार अस्पतालभन्दा दक्षिण पूर्वको डढेलो साँझ फेरि फैलिन थालेको छ । डढेलो सेनाको अर्को टुकडी भएको सुकाजोर टेलिकम टावरतर्फ जाने भय बढेको
छ । साँझ हावासँगै आगो बढन थालेपछि सैनिक र प्रहरीलाई उच्च सतर्क गराइएको छ ।
रामेछापमा आगलागीमा मृत्यु भएका सैनिक
१. पियुठ धनबहादुर विष्णु बाँके नववस्ता-२
२. पियुठ पूर्णबहादुर तामाङ लेखिम-५, सोलु
३. सिपाही रामशरण कार्की -
४. अमल्दार टोपबहादुर न्यौपाने रसुवा भोर्ले-७
५. हुद्दा छत्रबहादुर बस्नेत रस्नालु-१, रामेछाप
६. सिपाही सन्तोष महत नखेल-६, भक्तपुर
्७. सिपाही इन्द्रबहादुर बम सडा-९, कञ्चनपुर
८. पियुठ जयराज केसी सुडाल-५, भक्तपुर
९. सिपाही सन्तोष सुनुवार हेटौंडा
१०. सिपाही निरबहादुर खड्का नामाडी, रामेछाप
११. सिपाही ओमकार बस्नेत माईस्थान-२, महोत्तरी
१२. सिपाही युवराज गिरी सापिङ, काभ्रे
१३. सिपाही प्रकाश अधिकारी गुहेश्वरी-४, भक्तपुर
-Kantipur

1 comments:

susma said...

So sad News

Post a Comment